पत्रकारलाई मासिक ४ हजार पेन्सन

admin

हेटौंडा, मंसिर २४ :  नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकारहरुको क्षेत्रमा नवीन काम गर्न खोजेको छ। सम्भवत नेपालमै पहिलोपटक पत्रकारलाई पेन्सन दिने काम मकवानपुर शाखाले सुरु गर्न लागेको हो। जिल्ला शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई ६० वर्ष उमेर पुगेका पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने भएको हो।

पत्रकार महासंघ मकवानपुर शाखाको बुधबारको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि २०७७ पास गर्दै पेन्सन सुरुवात गर्न लागेको छ। पेन्सन दिन हेटौंडा उपमहानगरपालिकाले कोषमा १० लाख रुपैयाँ यसअघि नै हस्तान्तरण गरेको छ। पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघि नै खोलिएको खातामा १० लाख रुपैयाँ जम्मा गरिएको छ।

यही बैंकमा यसअघि मुद्दती खातामा रहेको दुई लाख रुपैयाँ समेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको १० लाखको व्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए। पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको यही मंसिर २६ गतेको साधारण सभाले पारित गर्न लागिएको छ।

लगातार कम्तीमा २० वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको अध्यक्ष हुमागाइँले बताए। ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने छ र कोषमा रकम वृद्धि भएसँगै पेन्सन रकम पनि वृद्धि गर्ने तयारी गरिएको छ।

अध्यक्ष हुमागाईंका अनुसार राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि संघ संस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध गराइने छैन।

ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ। सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वअध्यक्षमध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरे वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरका सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ। त्यस्ता पत्रकारहरुको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए।

पेन्सन प्राप्त गर्न पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेर पुगेपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उनले बताए।

विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति संघ, संस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम महासंघले त्यस कोषमा राख्ने जनाएको छ।

प्रतिक्रिया