काठमाडौँ–दिल्ली उडान पुस २ देखि

admin

काठमाडौं, मंसिर २६ :कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् ।

आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् ।

दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार पहिलो उडान निगमले गर्नेछ । भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने उनले स्पष्ट पारे ।

यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने प्रतिक्रिया भारतलाई दिएको थियो । यसैबीच नेपालस्थित भारतीय राजदूतावासले पनि हवाई उडान फेरि सञ्चालन हुने जानकारी दिएको छ ।

“दिल्ली–काठमाडौँ नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । एयर इन्डिया र नेपाल वायु सेवा निगमले यी दैनिक उडान सञ्चालन गर्नेछन्”, दूतावासले राखेको सूचनामा उल्लेख छ । साथै उसले टिकटका लागि सम्बन्धित देशको एयरलाइन्सको वेबसाइट हेर्न आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया