सरकारले समितिको निर्देशन मान्नैपर्छ : सभापति श्रेष्ठ

admin

काठमाडौं, २६ मंसिर : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छिन् । समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी हुन् ।

शुक्रबार न्युज एजेन्सीसँग कुराकानी गर्दै सभापति श्रेष्ठले नागरिकप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरू पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारेर कार्यान्वयनमा जानुपर्ने बताइन् ।

पूर्वसचिव मुकुन्द शर्माले भने कुनै पनि समितिले दिएका निर्देशनहरू सरकारले पालना गरेको/नगरेको भन्ने सम्बन्धमा समिति आफैले कार्यप्रगति मूल्याङ्कन गरी संसद् समक्ष पेस गरी छलफल गराउन सक्नुपर्ने बताए ।

तर, सरकारले कुनै निर्देशनहरू कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधानअनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरूलाई सरकारले बेवास्ता गरिरहेको बताए ।

यस्तै कुनै पनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताए । समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गएको बुधबार निर्देशन दिएको थियो ।

गृहमन्त्री थापालाई निर्देशन दिएको भए पनि सरकारले बिहीबार डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वयन गर्न समितिले निर्देशन दिएको थियो ।

प्रतिक्रिया