चितवन, नवलपरासी, मंसिर २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्दा देशलाई कुनैपनि हानि नहुने बताउनुभएको छ ।
सोमबार सरकारविरुद्ध चितवन कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उहाँले सत्तारुढ नेकपाभित्रको विवादले यो सहयोग रोकिने हो कि भन्ने आशंका रहेकोसमेत बताउनुभयो ।
डा. महतले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै देशको ढुकुटी रित्याउनेतर्फ अग्रसर भएकाले यसका विरुद्ध कोरोनाको कहरमा पनि सडकमा आउनुपरेको बताउनुभयो ।
संवैधानिक संकट निम्ताउन खोजेको आरोप
सोमबारै नवलपरासीमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कान्डै–कान्डमा मुछिँदै गएको सरकारले संवैधानिक संकट निम्ताउन खोजेको आरोप लगाउनुभएको छ ।
उहाँले आफ्नै पार्टीका नेताहरूको घेराबन्दीमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका हरेक कदम सर्वसत्तावादतर्फ उन्मुख भएकाले त्यसकाविरूद्ध कांग्रेसले अहिले सांकेतिक आन्दोलनमात्र थालेको बताउनुभयो ।