justnep home

सरकारले बोलाएको वार्तामा नजाने : उखु किसान

admin

काठमाडौं, १ पुस : उखु किसान भुक्तानीको ग्यारेन्टी नभएसम्म सरकारले बोलाएको वार्तामा नजाने बताएका छन् । उखुको भुक्तानी नपाएर आन्दोलनमा उत्रिएका उखु किसानको समस्या समाधानका लागि सरकारले वार्ताका लागि मंगलबार पत्र पठाएको थियो । तर, किसानले रकम भुक्तानीको ग्यारेन्टी नभएसम्म वार्तामा नजाने अडान लिएका छन् ।

बुधबार पनि काठमाडौंको माइतीघर मण्डलामा ११ बजेदेखि आफ्नो आन्दोलनलाई निरन्तरता दिने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । उनले पटक-पटक वार्ता गर्दै आश्वासन दिने तर, भुक्तानी नगर्ने प्रवृत्ति देखिएकाले आन्दोलन छाडेर किसानहरु वार्तामा नबस्ने बताए ।

मंगलबार गृह मन्त्रालयले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न भनेको छ भने उद्योग मन्त्रालयले कारबाही गर्ने जनाएको छ । तर, सरकारको कुरामा विश्वास नभएको भन्दै सडक संघर्षलाई निरन्तरता दिने किसानहरुले बताएका छन् ।

सरकारले निश्चित मिति तोके त्यही मितिसम्म सडकमा आन्दोलन गर्ने र पैसा पाएपछि घर फर्किने वा किसानले पाउनु पर्ने रकम कुनै सरकारी कोषबाट उपलब्ध गराएर पछि उद्योगीबाट सरकारले पैसा असुल्नुपर्ने उनीहरुको शर्त छ । उखु किसानले गएको आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् ।

पोहोर आन्दोलन पछि रकम भुक्तानीका लागि सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले फेरि दोस्रो पटक आन्दोलन थालेका हुन् । किसानले झण्डै ८९ करोड रुपैयाँ चिनी मिलबाट भुक्तानी पाउन बाँकी रहेको दावी गरेका छन् ।

प्रतिक्रिया