काठमाडौं, २ पुस : रौतहटको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । श्रीराम सुगर मिलले उखु किसानको करौडौं बक्यौता नतिरेपछि उखु किसानले रौतहट प्रहरीमा उजुरी दिएका हुन् । आफूले बक्यौता नआएपछि उखु किसान काठमाडौंमा आएर प्रदर्शनमा छन् ।
प्रहरी स्रोतका अनुसार श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरु सबै काठमाडौंमा बस्दै आएको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार रौतहट प्रहरीको पत्रका आधारमा उनीहरुको खोजी कार्य जारी छ ।
गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बुधबार रातभर उनीहरुको खोजीमा प्रहरी सक्रिय भए पनि फेला नपरेको बताए ।