अध्यादेश फिर्ता नलिँदै प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान, कांग्रेसका सभापति देउवा बैठकमा नजाने

admin

काठमाडौं, २ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको भोलिपल्ट बिहीबार बैठक आह्वान गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन । बेलुकी ५ बजे बैठक बस्नेबारे जानकारी प्राप्त भएको तर अध्यादेश नै फिर्ता नभइ सकेकाले बैठकमा सहभागी नहुने सभापति देउवाको सचिवालयले जनाएको छ ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलेसमेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश फिर्ता गर्नेबारे कार्यालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई भने बैठकबारे जानकारी नआएको बुझिएको छ । सभामुख सचिवालयका सदस्य श्रीधर न्यौपानेले बैठकबारे जानकारी नभएको बताए ।

अध्यादेशअनुसार बैठक बस्नका लागि अध्यक्षसहित दुई सदस्य भए पुग्छ प्रधानन्यायधी चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनामात्रै सहभागी भएपनि बैठकमा गणपुर संख्या पुग्छ । बैठकमा विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस प्रधानमन्त्री ओलीको तयारी छ । 

प्रतिक्रिया