दाहालद्वारा गृहमन्त्रीसँग भेटवार्ता, प्रचण्ड-नेपाल पक्षका सांसदहरूको बानेश्वरमा भेला

admin

काठमाडौं, ६ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग को भेटवार्तापछि, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरमा सुरु भएको छ ।

बानेश्वरमा रहेको संसद् भवनमा सांसदहरु भेला भएका हुन् । भेलालाई अध्यक्ष दाहाल र नेता नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि अध्यक्ष दाहालले विज्ञप्ति निकालेर पार्टी एकताबद्ध रहेको दाबी गरेका छन् ।

उनले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने बताएका हुन् । गृहमन्त्री थापा र अध्यक्ष दाहालबीच केही बेर मात्रै कुराकानी भएको र दाहालले ओलीको कदमको विरोध गरेर आफूलाई साथ दिन अनुरोध गरेको सचिवालयले जनाएको छ ।

सोमबार नै प्रधानमन्त्री केपी ओलीले आफ्ना पक्षका सांसदहरुको भेला बालुवाटारमा राखेका थिए । गृहमन्त्री थापा प्रधानमन्त्री ओलीले बिहान बोलाएको आफू निकटको भेलामा पनि सहभागी भएका थिएनन् । त्यसअघि गृहमन्त्री थापाले आफू पक्षीय नेताहरूसँग परामर्श गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका थिए । तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदलाई बालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया