दुई तिहाइ सदस्यको शक्ति हेर्नुहोस् : प्रचण्ड-नेपाल

admin

काठमाडौं, ७ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूसँग हरेक कमिटीमा दुई तिहाइ बहुमत रहेको दाबी गरेका छन् । नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य पनि प्रचण्ड-नेपाल समूहतिर लागेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन् । बबरमहलमा भएको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा तीन सय १० जना केन्द्रीय कमिटी सदस्यले हस्ताक्षर गरेको दाबी गर्दै अध्यक्ष दाहालले बालुवाटारको कोठे बैठकबाट बाहिर निस्किएर दुई तिहाइ सदस्यको कुरा सुन्न आग्रह गरेका छन् ।

‘बालुवाटारमा सानो झुण्डको बैठक बसेर कमिटीमा मान्छेहरु थपियो भन्ने सुनेको छु, दुई तिहाइ सदस्यलाई बाहिर राखेर कसरी सदस्य थपियो, कम्तीमा बाहिरको माहोल त बुझ्नुपर्थ्यो नि !’, बैठकलाई सम्बोधन गर्दै दाहालले भने । सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा दुई तिहाइ सदस्यले भनेको कुरा नसुनेर ओलीमा निरङ्कुश बन्ने सपना पलाएको र त्यसैका परिणामस्वरुप संसद् विघटन गरेको बताए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बसेर गैरकानुनी निर्णय गर्ने बानी परेका ओलीलाई पटक-पटक सच्चिन आग्रह गरे पनि नटेरेकाले पार्टीले कारबाही गरेको बताए । उनले कुनै पनि हालतमा संसद् ब्यूँताएरै छाड्ने समेत जिकिर गरेका छन् ।

यसअघि बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । अध्यक्ष, महासचिव र माइन्युट आफूहरूसँगै रहेकाले प्रचण्ड-नेपाल समूहका कुनै पनि निर्णय नेकपाले नचिन्ने ओली पक्षका नेता प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया