प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा २ सय ८७ सदस्यको हस्ताक्षर

admin

काठमाडौं, ८ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो ।

अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले जानकारी दिए ।

उनका अनुसार प्रचण्ड-नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको संख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत संख्या हो । नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मंगलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ ।

प्रचण्ड-नेपाल समूहले ओली समूहमा एक सय २० जनाभन्दा थोरै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका चार सय ४१ सदस्यमध्ये सात जनाले विभिन्न सरकारी पदमा नियुक्ति पाएको कारण सदस्य संख्या जम्मा चार सय ३४ रहेको पोख्रेलले बताए ।

जसमा तीन सय पाँच जना प्रचण्ड-नेपाल पक्षको रहेको नेता लीलामणि पोख्रेलको दाबी छ । बाँकी एक सय २९ सदस्यमध्ये रामबहादुर थापा बादल पक्षका केन्द्रीय सदस्य कतै पनि नखुलेका कारण ओली पक्षमा एक सय २० भन्दा कम केन्द्रीय सदस्य रहेको पोख्रेलको दाबी छ ।

प्रतिक्रिया