काठमाडौं, पुस ८ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनर्स्थापना हुनै नसक्ने बताएका छन्। नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेता कार्यकर्तालाई चुनावको तयारीमा जुट्न समेत निर्देशन दिए।
उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोप सहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क गरे। उनले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भंग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए।
‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो’, लुम्बिनी प्रदेश, रुपन्देहीका पूर्वसांसद पौडेलले भने, ‘तर उहाँहरू महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन।’
उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैंजसो समस्या देखिने गरेको बताए। सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरूले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए।
उनले अघिल्लो पटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत किनेका कारण मुलुक विद्युतभार कटौतीमुक्त भएको जिकिर गरे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता, हुलाकी सडक–विमानस्थल निर्माण– स्थानीय तहमा अस्पताल निर्माणलगायत थुप्रै राम्रा काम गरेको उदाहरण दिँदै नयाँ भू-भाग समेटेर नेपालको नक्सा जारी गरेपछि ओलीमाथि घेराबन्दी थालिएको धारणा राखे। रासस