विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप

admin

काठमाडौं, पुस १४ : नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो।

पार्टी एकताको समेत सूत्रधार मानिएको गुओको टोलीले काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसहित नेकपाका चार नेतालाई भेटेर विभाजनको औचित्य र यसले पार्ने असर तथा नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको भविष्यबारे चासो व्यक्त गरेको थियो।

गुओको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटी नेकपा विभाजित हुनुको कारण बुझेका थिए।

आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो। तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ।

पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ। प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो। टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो।

प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ। ‘नेपालमा पार्टीहरू विभाजित हुन्छन्, एकता हुन्छ, यहाँको अवस्था यस्तै छ, यो आन्तरिक मामिला हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

त्यसक्रममा चिनियाँ नेताहरूले ओली र दाहाल मिलेर अघि बढे नेपालको कम्युनिस्ट आन्दोलन सफल रहने बताएका थिए। उनीहरूले ओलीसँग चिनियाँ सरकारले नेपाल सरकारलाई गर्ने सहयोगमा कुनै कमी नरहेको, सहयोग जारी नै रहेको, विभिन्न परियोजनामा चिनियाँ लगानी रहेको र भविष्यका पनि अन्य लगानीमा पनि सहकार्य गर्ने जनाएका थिए।

ओलीसँगको भेटपछि सोमबार बिहान सो टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहालसँग भेटी नेकपामा विभाजनको कारणबारे जिज्ञासा राखेको थियो। नेकपा मिल्न सक्ने कुनै आधार बाँकी छ कि छैन भन्ने प्रश्नसमेत टोलीले राखेको थियो। उनीहरूले दाहालसँग नेपालको सिंगो कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सहकार्य रहेको बताउँदै एकता कायम

प्रतिक्रिया