सिसिएमसी बैठक : सबै क्षेत्र खुलाउने/बन्द गर्ने जिम्मा जिल्लाका केन्द्रलाई

admin

काठमाडौं, पुस १९ : कोभिडका कारण बन्द भएका विद्यालय खुल्ने भएका छन्। आज (आइतबार) बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी निर्देशक समिति) बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रमा वर्तमान स्थिति विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए।

यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना संक्रमणको प्रवेश भए बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायतलगायत विभिन्न २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि समितिले गरेको छ।

यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भाइरसका कारण अझ प्रभावकारी रुपमा भराउने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरुलाई निर्देशन दिनेसम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले स्पष्ट पारे।

प्रतिक्रिया