हिमपातका कारण हवाई सेवा प्रभावित

admin

जुम्ला, २० पुस : देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमीकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । जुम्ला सदरमुकाममा पनि रातभरि सामान्य पानी परेसँगै हिउँ जमेको छ ।

जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ भने गहिरो ठाउँमा हिउँ जमेको छ । हिमपातका कारण हवाई उडान समेत प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हिमपातले उडान हुन नसकेपछि सिमीकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यसवर्षको मौसम चिसो भएका कारण हिउँ धेरै पर्न सक्ने स्थानीय बताउँछन् । अहिले जुम्लाको तापक्रम माइनसबाट शून्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख आशामपुरा कार्कीकाअनुसार आइतबार न्यूनतम माइनस ३ दशमलव ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ पुगेको छ । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया