काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

admin

काठमाडौं, २० पुस : राति बादल लागेपछि काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम सोमबार बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

यसअघि गएको कात्तिक २३ गते काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता लगातार घट्दै न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो । तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् श्रेष्ठले बताए । रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदै आएका छन् ।

तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्ले बताएका छन् । अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको छ ।

प्रतिक्रिया