दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

admin

एजेन्सी, २० पुस : चिनियाँ अर्बपति तथा ई-कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा पछिल्लो केही महिनायता सार्वजनिक रूपमा नदेखिएका कारण हराएका हुन सक्ने आशङ्का गरिएको छ । उनको कम्पनीमाथि पनि लगातार कारबाही गरिँदै छ ।

ज्याकमा सार्वजनिक रूपमा नदेखिँदा अनेक प्रकारका आशङ्का गर्न थालिएको छ । डेली मेल रिपोर्टका अनुसार ज्याक मा गएको महिना कैयौँ कार्यक्रममा सहभागी हुने क्रममा थिए तर अन्तिम समयमा उनको नाम अतिथि वा वक्ताको सूचीबाट हटाइएको थियो ।

उनले गएको अक्टोबर महिनामा शङ्घाईमा एक कार्यक्रममा चीनको वित्तीय नियामक र सरकारी बैंकहरूको चर्को आलोचना गरेका थिए । साथै उनले प्रणालीमा परिवर्तन गर्न र नयाँ प्रकारको व्यवसाय सुरु गर्न दबाब नदिन सरकारसँग आह्वान गरेका थिए । यही ‘विवादास्पद’ टिप्पणीपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् ।

नोभेम्बरमा चर्चित शो ‘अफ्रिकाका बिजनेस हिरोज’ को शृङ्खलाबाट पनि उनको नाम हटाइएको थियो । शो को पोस्टरबाट पनि उनको तस्बिर हटाइएको थियो । ज्याकमा चीनमा विशेषतः सार्वजनिक कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुन्छन् र आफ्नो प्रेरणादायी भाषणका लागि युवा वर्गमा लोकप्रिय छन् । सामाजिक सञ्जालमा सक्रिय भइरहने ज्याक मा गएको अक्टोबर १० यता उनले कुनै ट्वीट गरेका छैनन् । 

प्रतिक्रिया