साउदी अरेबियाद्वारा कतारमाथि लगाएको प्रतिबन्ध हट्यो

admin

काठमाडौं, २१ पुस : साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री डा. शेख अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिएका छन् ।

एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छेद गरेका थिए । कतारले इरानसँग सम्बन्ध राखेर आतंकवादलाई बढवा दिएको आरोप थियो । कतारले भने यो आरोपको खण्डन गर्दै आएको छ ।

साउदी अरेबियाले हवाई मार्ग, जलमार्ग र स्थलमार्ग जनवरी ४ को राति १२ बजेबाट खोल्न सहमत भएको कुबेतका विदेशमन्त्री अहमद नासेर अल मोहम्मद सबाबले बताएका छन् । कुबेतले गल्फ राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी हटाउन सधैं मध्यस्थकर्ताको भूमिका निभाउँदै सङ्कटको समयमा असल मित्रराष्ट्र भएको आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसैबीच कतारका अमिर सेख तमिम बिन हमाद अल थानी कतारको तर्फबाट मंगलबार अरब सहयोग परिषद्को ४१औँ सम्मेलनमा भाग लिन साउदी अरेबिया प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी यहाँको संसद द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नाकाबन्दी हटाउने साउदी अरेबियासँगको सहमतिले कतारमा रहेका जनमानसमा खुसियाली छाएको छ । नाकाबन्दी पछी थुप्रै नेपालीहरुले रोजगारी समेत गुमाएका थिए ।

प्रतिक्रिया