टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ : दाहाल

admin

काठमाडौं, १२ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार पेरिसडाँडामा प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले माघ ९ गतेको भन्दा पनि विशाल प्रदर्शन २८ गते हुने र यसले प्रतिगामीहरूको चेत खुलाउने दाबी गरे ।

‘बाहिरी सहरमा गरेको आन्दोलनले भन्दा काठमाडौंमा भएको आन्दोलनले उनीहरूलाई धक्का पुग्ने देखियो, काठमाडौं टाउको हो, त्यसैले टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ’, दाहालले भने । गएको माघ ९ गतेको प्रदर्शनपछि नागरिकमा प्रतिगमनविरुद्ध जागरुक हुने गरि सन्देश गएको उनको भनाइ छ ।

आफूहरूको प्रदर्शन देखेर ओली समूह आत्तिएको र त्यसको काउण्टरमा प्रदर्शन गर्न लागेको तर ओली समूहको र्‍याली पञ्चहरूको भन्दा फरक नहुने दाहालको जिकिर छ । ‘पहिले राजा, पञ्चहरूले पनि अन्तिम समयमा यस्तै र्‍याली गर्थे, अहिले ओलीले त्यही गर्दै हुनुहुन्छ, तर संविधान मिचेको खुसीमा हुने त्यो र्‍याली पञ्चहरूको भन्दा फरक हुने छैन’, दाहालले भने ।

प्रतिक्रिया