भैँसीपूजा गर्नु पशुपतिनाथमा पूजा गर्नुजस्तो स्वाभाविक हैन : सूर्य थापा

admin

काठमाडौं, १५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भैँसीपूजा गरेको प्रसंग जोड्दै थापाले दुवै कम्युनिस्ट नेताको धार्मकताको तुलना गरेका छन् । सामाजिक सञ्जालमा नेकपाको दुइ फरक खेमाका अध्यक्ष रहेका दुवै नेताको तस्वीर राख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथमा पूजाआजा गरेको विषयले सर्वत्र प्रशंसा पाएको बताएका हुन् ।

फेसबुकमा थापाले दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्रीको यस कार्यको सर्वत्र प्रशंसा भएको बताएका हुन् । उनले प्रधानमन्त्रीद्वारा मन्दिरमा सुनको जलारी निर्माणको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धता भएको समेत जानकारी गरेका छन् ।

‘पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ,’ थापाले लेखेका छन्, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

थापाले दाहालले भैँसीपूजा गरेको भनेर तस्वीरसँगै उक्त कार्य पशुपतिमा पूजा गर्नुजस्तो स्वाभाविक नभएको बताएका छन् । ‘पुष्पकमल दाहाल “प्रचण्ड” ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो,’ थापाले लेखेका छन्, ‘भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन ।’

नेपालमा प्रायः कम्युनिष्टहरूले धर्मकर्मको विरोध गर्दै आएका छन् । कम्युनिस्ट प्रधानमन्त्रीहरूले पशुपतिनाथमा विशेष पूजाआजा गरेको इतिहास छैन, प्रधानमन्त्री ओलीले यही माघ १२ गते बिहान पशुपतिनाथमा विशेष संकल्प पूजा गरेका थिए ।

प्रतिक्रिया