उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

admin

काठमाडौं, १६ माघ : काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको हो ।

छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरूले दुःख खेप्नुपरेको गुनासो गरेका थिए । बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहाललगायत सङ्घका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सङ्घ तयार रहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । अहिले काठमाडौं उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता रहेको छ ।

उक्त छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरूपमा विधिसम्मत तरिकाले आ-आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको सङ्घका पदाधिकारीहरूले बताए । राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्स सङ्घको सिफारिसमा बैंकहरूले विदेशबाट कच्चा सुनको आयात गरि महासङ्घको सिफारिसमा व्यवसायीहरूलाई सुन उपलब्ध गराउँदै आएको छ ।

मोफसलका जिल्लाहरूबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरूमा पनि सुनको स्टक राख्ने, बैंकपिच्छे फरक-फरक हुँदै आएको दरभाउमा एकरूपता ल्याउने, सुन खरिद गर्न बैंकहरूले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरि पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया