मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट स्वागत’ भनेपछि… (भिडियो)

admin

काठमाडौं : खानेपानी मन्त्री मणिचन्द्र थापा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभयो । मन्त्रीको हैसियतमा जिल्ला पुग्नुभएका उहाँलाई कार्यक्रममा विशेष सम्मानको साथमा राख्दै अन्तिममा मन्तव्य दिनका लागि उद्घोषकले बोलाए ।

सम्बोधनका लागि पोडियममा पुग्नुभएका मन्त्री थापाको बोली सुरुमै चिप्लियो । उहाँले आफ्ना कार्यकर्ता एवं उपस्थितलाई सम्बोधनको क्रममा श्री ५ को सरकारको तर्फबाट स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुर्खेतका आदरणीय जनसमुदायहरु, म तपाईंहरू सबैलाई नेकपाको स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु ।’ पछि सहयोगीले सम्झाइदिएपछि उहाँले नेपाल सरकार नै भन्नुभएको थियो ।

नेकपा विभाजन पछि मन्त्री बन्नुभएका मणिचन्द्र थापा पछिल्लो १ महिनादेखि अत्यन्त व्यस्त हुनुहुन्छ । मन्त्री भएपछि व्यस्त हुनु स्वभाविकै हो । मन्त्रालयको काममा व्यस्त हुनुपर्ने उहाँ लगायत अन्य मन्त्रीहरू अचेल विभिन्न जिल्लामा आयोजना भएका कार्यकर्ता भेलालाई सम्बोधन गर्न व्यस्त देखिनुहुन्छ ।

प्रतिनिधिसभा विघटन भएपछि ओली पक्षमा लाग्नुभएका मन्त्री थापाले पछिल्लो एक महिनामा पार्टीका थुप्रै कार्यक्रममा पुग्नुभयो । प्रतिनिधिसभा विघटनको पक्षमा आफ्ना मन्तव्य दिँदै आउनुभएका उहाँले अधिकांश समय पार्टीको अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालमाथि चर्को आलोचना गर्न खर्चनुभएको छ ।

ओली पक्षका नेताहरूको भन्दा कडा दाहाल पक्ष छाडेर गएकाहरूले बढी आलोचना गरेको अध्यक्ष दाहालले पनि महसुस गर्नुभएको छ । उहाँले केही सार्वजनिक कार्यक्रममै नयाँ–नयाँ मन्त्री बनेका साथीहरूले बढी खरानी घसेको बताउनुभएको थियो ।
भिडियाे हेर्नुहाेस्–

प्रतिक्रिया