ललितानिवास जग्गा प्रकरण : मुद्दा चलाउने सिआईबीको कुनै तयारी छैन ?

admin

काठमाडौं, १८ माघ : बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा ठगी मुद्दा चलाउन प्रहरीसँग अब १२ दिन मात्र बाँकी छ । ठगी मुद्दामा जाहेरी परेको एक वर्षभित्र अनुसन्धान टुंग्याएर अदालतमा मुद्दा दर्ता गर्नुपर्छ । गत वर्ष १ फागुनमा सिआइबीमा जाहेरी परेको थियो ।

१२ दिन मात्र बाँकी हुँदा मुद्दा चलाउने सिआईबीको कुनै तयारी छैन । कसैलाई पनि उसले पक्राउ पनि गरेको छैन । मुद्दा चलाएपनि अब सबैलाई फरारका रुपमा मुद्दा चलाउनुपर्ने हुन्छ । उच्च स्रोतका अनुसार सिआइबी मुद्दा नचलाउने निष्कर्षमा पुगेको छ ।

महान्यायाधिवक्ता कार्यालयले पनि ठगी मुद्दा चलाउन नपर्ने राय दिएको छ । भ्रष्टाचार मुद्दा चलिसकेको अवस्थामा एउटै कसुरमा ठगी मुद्दा पनि नचल्ने मुलुकी अपराध संहिताको दफा २४९ मा छ । सोही आधारमा सिआईबीले ठगी मुद्दा नचलाउने भएको हो ।

तर, भ्रष्टाचार मुद्दा नचलेका व्यक्तिको हकमा ठगी मुद्दा चलाउनुपर्ने सिआइबीका अधिकारीको भनाई छ । अब यो प्रकरणमा कीर्ते मुद्दा मात्र चल्ने भएको छ । कीर्ते मुद्दाको हदम्याद दुई वर्ष हुने भएकाले यो पनि तत्काल चल्ने अवस्था छैन ।

सिआइबीका डिआइजी सहकुल थापा आफ्नो कार्यकालमा मुद्दा नचलाउने पक्षमा छन् । आफु विवादमा पर्न सक्ने भएकाले उनले कीर्ते मुद्दा पनि तत्काल नचलाउने रणनीति लिएका छन् । – दृष्टिबाट

प्रतिक्रिया