प्रचण्ड-नेपाल फेरि सडकमा (भिडियोसहित)

admin

काठमाडौं, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माईतीघरमा धर्ना दिएको छ । धर्नाको नेतृत्व उक्त समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

माइतीघर मण्डलामा जारी धर्नामा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय दाहाल र नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन् । यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै दाहाल र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरको सडकमा बसेका थिए । संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेको प्रचण्ड-नेपाल समूहले यसअघि बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ । 

यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको नेपाल-प्रचण्ड समूहले तेस्रो चरणमा पनि काठमाडौं लगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनः स्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ ।

 

त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड-नेपाल समूहले आगामी माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन् ।

प्रतिक्रिया