ओली समूहले नारायणहिटी अगाडि जनसभा गर्ने

admin

काठमाडौं, १८ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ ।

काठमाडौंको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको यस कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, भेषभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकुद महासङ्घले स्वयम्सेवक परिचालन गर्ने जनाइएका छ ।

यसदिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत ठाउँबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको ।

जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आ-आफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

प्रतिक्रिया