काठमाडौं, १८ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनर्स्थापनको विकल्प नभएको बताएका छन् । आइतबार आफ्नो पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
नेपाली नागरिकले प्राप्त गरेका अधिकार र संविधानको रक्षाका लागि प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ति सुरु भइसकेको बताए । सरकार पाकेको फल झैँ झर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको बताए । प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौंमा गर्ने भनेको जनसभामा राजावादीहरू पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताए । प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ छ । नेपाली नागरिकले प्रतिगामी कदम परास्त गर्नेमा उनले दाबी गरे ।
नेकपा प्रचण्ड-नेपाल पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरि हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् । ओली प्रतिगमनको पराजय छिट्टै गर्ने उनको भनाइ छ ।
विघटित प्रतिनिधि सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरीत जाने कदमका विरुद्ध लागिरहने बताइन् । संविधानको रक्षाका लागि जति दिन पनि आन्दोलन बस्ने भन्दै उनले आन्दोलनले ०६२/०६३ सालको जनआन्दोलनको रूप लिने पनि बताइन् ।
गएको पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भए पनि आउँदो सङ्घर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकाले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको प्रचण्ड-माधव समूहले जनाएको छ ।