काठमाडौं, २१ माघ : संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिएका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आयोगका अध्यक्षमा विभिन्न संवैधानिक आयोगमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् ।
सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका छन् । सिफारिस भएका ४५ मध्ये ३२ जना पदाधिकारीले शपथ लिएका छन् । संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ ।
संवैधानिक परिषदले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव नै नगरी शपथ गरिएको भन्दै विरोध भएको छ ।
सरकारले गएको पुस ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गरेको थियो ।