कोरोना महामारीपछि मानसिक रोगका बिरामी बढे

admin

ललितपुर, २२ माघ : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । देशमा फैलिएको कोभिड महामारीपछि पाटनमा त्यस रोगका बिरामी बढ्न थालेका हुन् । देशमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा. रवि शाक्यले बताए ।

उनले भने ‘यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० शैय्या व्यवस्था गरेको छ, यी शैय्या अहिले सधैंजसो भरिभराउनै हुन्छन्, सानो बच्चामा यो रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन् भने १५ देखि ५५ वर्ष उमेर समूहका मानिस आउने क्रम बढेको छ ।’

विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । यस अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखेर उपचार सेवा दिन सुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको संख्या १० देखि ३० प्रतिशतमा झरेको थियो ।

मंसिर पहिलो हप्ताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत संख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ ।अस्पतालमा महामारीअघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा अहिले लगभग एक हजारले यो सेवा लिन थालेका डा. शाक्यको भनाइ छ ।

अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा. शाक्यले औंल्याए । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम संख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ ।

प्रतिक्रिया