अब १८ घण्टा मात्रै खुल्ने त्रिभुवन विमानस्थल

admin

काठमाडौं, १२ फागुन : चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २८ मार्च अर्थात् चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमान र यात्रुको संख्या कम भएको, कोरोनाका कारण आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेकाले विमानस्थल सञ्चालनको अवधि घटाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । दिउँसो विमानस्थल खाली हुने र चार वटा एअरलाइन्सको उडानका लागि बिहान तीन बजेसम्म विमानस्थल खोल्नुपर्ने अवस्थाको अन्त्य गरिएको उनले बताए ।

२८ मार्चदेखि गृष्मकालीन उडान तालिका कार्यान्वयनमा आएसँगै विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने तिवारीको भनाइ छ । नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरी चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् ।

अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ ।

कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएको छ । तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया