कांग्रेसले फागुन २१ गतेका लागि बोलायो संसदीय दलको बैठक

admin

काठमाडौं, १९ फागुन : प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् । २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् । प्रतिनिधिसभा विघटन र पुनःस्थापना घनचक्कर बीच बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।

पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले कांग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको छ । तर नेकपा विभाजनको लफडा नटुंगी कांग्रेसले कुनै निर्णय नलिने भुसालको भनाइ छ ।

सांसद कार्कीले पनि सत्तासीन नेकपा केपी ओली र प्रचण्ड-माधव नेपाल समूहले कित्ता क्लियर नगरि कांग्रेसले कुनै निर्णय नलिने बताए । सत्ता सहकार्यका लागि नेकपा ओली प्रचण्ड-नेपाल दुबै समूहले कांग्रेससँग संवाद जारी राखेको छ । कांग्रेसले भने उनीहरुबीचको औपचारिक विभाजनपछि मात्र कित्ता क्लियर गर्ने अडान लिएको छ ।

प्रतिक्रिया