ओली र दाहाल अध्यक्ष रहेको नेकपा खारेज, चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा

admin

काठमाडौं, २५ फागुन : निर्वाचन आयोगले २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको हो । आयोगले दुई दल २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ ।

आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएको जानकारी सङ्घीय संसद् सचिवालय, सबै प्रदेश सभा र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने भएको छ । यस्तै अब ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र फेरि एक हुन चाहेमा केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरेर एकीकृत दलको नाम र चुनाव चिह्नसहित १५ दिनभित्र निवेदनसहित उपस्थित हुन पनि आयोगले जानकारी गराएको छ ।

अब गोपाल किराँतीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले खारेज हुने र उनीहरूले नयाँ दल दर्ता गर्न चाहेमा दलको नाम र चुनाव चिह्नसहित सम्पर्क गर्न सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया