ब्राजिलमा कोरोना संक्रमण फेरि बढ्यो, एकैदिन दुई हजारभन्दा धेरैको मृत्यु

admin

एजेन्सी, २७ फागुन : ब्राजिलमा कोरोना भाइरसको संक्रमण दर फेरि बढेको छ । ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको संक्रमणका कारण ज्यान गएको छ । बुधबार ब्राजिलमा संक्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ ।

अमेरिकापछि ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै छ । कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ । विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै संक्रमण दर बढेको हो ।

बुधबार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बोलसेनारोमाथि कोरोना भाइरसलाई लिएर गरेको निर्णयलाई ‘बेबकुफी’ को संज्ञा दिएका छन् । बुधबार राष्ट्रपति बोलसेनारो यस महिनामा पहिलो पटक मास्क लगाएको देखिएको छ । बोलसेनारोले कोरोना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आएका छन् ।

भर्खरै मात्र उनले कोरोनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेको भन्दै आलोचना गरेका थिए । ब्राजिलको प्रमुख सार्वजनिक स्वास्थ्य केन्द्र फियोक्रुजले कोरोना संक्रमण दर बढेका कारण देशका ठूला सहरमा स्वास्थ्य प्रणालीमा निकै दबाब परिरहेको बताएको छ । केही सहरको अवस्था कठिन अवस्थामा पुगेको बताइएको छ ।

प्रतिक्रिया