संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

admin

काठमाडौं : सरकारले पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटन बदर गरिदिएपछि प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि सुरु भएको थियो।

यसबीचमा अहिलेसम्म ५ वटा बैठक बसेको छ। जुन औपचारिकतामै सीमित भए। आगामी बैठक १८ चैतमा बोलाइएको छ। त्यो बैठक पनि शोक प्रस्तावबाहेक अन्य विषयमा प्रवेश नगर्ने अनुमान गरिएको छ। प्रतिनिधिसभालाई सरकारले बिजनेश नै नदिएको विपक्षी दलको आरोप छ भने सरकारले विधेयकसमेत बढाउन नदिएको तर्क गर्दै आएको छ।

अब एकाध बैठक बसेर अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ। वैशाखबाट बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले चालु अधिवेशन अन्त्यको तयारी भएको सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्।

उनले भनेका छन्, ‘जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, बजेट आउनुअघि ‘प्रि–बजेट’ छलफल गर्ने अभ्यास छ त्यसैले पनि अब अर्को अधिवेशन बोलाउनुपर्छ।’

प्रतिनिधिसभामा लामो समयदेखि अड्किएका ३६ वटा विधेयक विचाराधीन छन्। तीमध्ये कतिपय विधेयक विषयगत समितिबाट पारित भइसकेका छन्। राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएका ६ वटा विधेयक छन्। केही जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि छन्।

प्रतिक्रिया