गहुँ काट्दै ‘विप्लव’

admin

काठमाडौं, १६ चैत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गहुँ काटेको तस्विर बाहिरिएको छ । भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका ‘विप्लव’ गहुँ काट्न खेतमा पुगेका छन् ।

निलो ट्रयाक सुट र टोपी लगाएर विप्लव खेतमा गहुँ काट्दै गरेको तस्वीर उनका एक सहयोगीले सार्वजनिक गरेका छन् । ‘कम्युनिस्ट विचार र आदर्श, श्रम र उत्पादनसँग जोड्नुपर्छ । श्रम र उत्पादनसँग जोडिएको कम्युनिस्ट दर्शनले मात्रै वैज्ञानिक समाजवादको आधार तयार गर्छ ।

श्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टी महासचिव कमरेड,’ गहुँ काट्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनका सहयोगीले लेखेका छन् । विप्लवले हालै तराईको जिल्लामा गएर गहुँ काट्दै गरेको तस्वीरमा देखिन्छ । विप्लवको परिवार अहिले कपिलवस्तु जिल्लामा बस्दै आएको छ ।

कम्युनिस्टहरू श्रम गर्न छाडेर विलासितामा लागेर कम्युनिस्ट आदर्शबाट च्युत भएको आरोप उनले लगाउँदै आएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि कम्युनिस्ट आचरण पालना गर्न हप्तामा केही घण्टा खेतबारीमा श्रम गर्ने गरी तयारी गरेको नेकपा स्रोत बताउँछ । गत फागुन २१ गते सरकारसँग विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया