गृहमन्त्रीको संयोजकत्वमा रेशम चौधरीको रिहाइलगायतका माग टुङ्ग्याउन वार्ता टोली गठन

admin

काठमाडौं, १६ चैत : सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

सङ्घर्ष समितिले उठाएका १९ बुँदे मागको विषयमा सोमवारैदेखि वार्ता सुरु हुने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनका लागि राखेको मागअनुसार थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न टोली गठन गरिएको हो ।

समितिले रेशम चौधरीको रिहाइलगायतका १९ बुँदे माग राखेको छ । नेपाल सरकार सबै प्रकारका हिंसात्मक गतिविधिको अन्त्य गरेर देशलाई शान्त बनाउने अभियानमा रहेकाले सबै पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्ने उद्देश्यका साथ काम भइरहेको पनि मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया