सांसदहरूबीच आरोप-प्रत्यारोप : सरकारको उपलब्धि नदेख्ने, विरोध मात्रै गरिरहने ?

admin

काठमाडौं, १८ चैत : सत्तारूढ दलका सांसदहरूले सरकारले देशको विकासका लागि चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दलका सांसदहरूले सरकारले गरेका अति महत्त्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद शान्ता चौधरीले सरकारले गरेका राम्रा कामको फलस्वरूप देश कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख, औद्योगिक ग्रामको स्थापना, सामाजिक सुरक्षा भत्ता र कोरोनाको खोपको सहज व्यवस्थापन गर्न सफल भएको भन्दै उाले सरकारलाई धन्यवाद दिइन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले भर्खरै भएको बडि गाउँपालिकामा घटनाको सत्य-तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही तथा घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे । उनले म्यानमारमा भइरहेको नागरिकमाथिको दमनको विरोध गर्दै घटना रोकेर लोकतन्त्र पुनर्स्थापित गर्न आग्रह गर्दै सैनिक सरकारको गतिविधि खेदजन्य भएको टिप्पणी गरे ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताउँदै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको अवगत गराए ।

साथै उनले सरकारले संसद्लाई बिजनेसविहीन बनाइरहेको आरोप लगाउँदै सरकारले संसद्लाई बिजनेसविहीन बनाउँदा थुप्रै महत्त्वपूर्ण विधेयक अड्किएर बसेको र सामान्य एजेन्डामा मात्रै संसद् बैठक सीमित भएको बताए । जनता समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले अहिले देशभर वायु प्रदूषण बढिरहेको बताउँदै यसको समाधानमा सरकारले आवश्यक काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोभिड-१९ को परीक्षण प्रभावकारी बनाउनुपर्ने, कोभिड व्यवस्थापनका लागि सरकारले भारतसँगको खुला सिमानामा स्वयंसेवक बनाउन टोली बनाउनुपर्ने र भारतसँग अनुदानमा लिएको कोभिड खोप सबै जिल्लामा पठाउनुपर्ने बताए । बैठकमा सांसदहरू दुर्गा पौडेल, कृष्णभक्त पोखरेल, लक्ष्मी परियार, गङ्गा चौधरी सत्गौवालगायतले जनजीविकाको सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप-प्रत्यारोप
प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप-प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् ।

शून्य समयमा टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत विघटन गरेको संसद् अदालतको आदेशपछि पुनर्स्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताए । यस्तै डिला संग्रौलाले सरकारले कोरोना प्रभावित मजदुरको हितमा काम गर्न नसेकेको र देशमा समस्या नै छैन जस्तो गरेर प्रधानमन्त्रीले भाषण गर्दै हिँडेको बताइन् ।

यस्तै दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीले नै आफूमाथि गम्भीर खतरा रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य प्रकट गर्दै संसदमा प्रधानमन्त्री किन नआएको हो ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओली नैतिक रूपमा कमजोर भएकाले संसदमा आउने आँट नगरेको बडुले बताए ।

एमालेकी सांसद शान्ता चौधरीले भने अनावश्यक विवाद निकालेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्न बाध्य गराएको आरोप लगाइन् । उनले सरकारले नागरिकको हितमा गरेका काम र विकास निर्माणका कामको पनि समर्थन नभइ विरोध गरिरहेको भन्दै आपत्ति जनाइन् ।

पुनर्स्थापनापछि प्रतिनिधि सभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेस नदिएको आरोप लाग्दै आएको छ । संसद्लाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गरेका थिए ।

प्रतिक्रिया