महोत्तरीबाट हराएका ७ किशोरीको बयान : ‘गायिका बन्न सितामढी पुग्यौं’

admin

काठमाडौं, १९ चैत : महोत्तरीबाट हराएका ७ जना किशोरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भारतबाट नेपाल ल्याएको छ । मंगलबारबाट हराएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए ।

बुधवार राति शसस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर नेपाल ल्याएको हो ।

किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका प्रनानी (सई) नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो । बिहारको सितामढीस्थित रेल्वे स्टेशनमा भारतीय प्रहरीले किशोरीलाई फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो ।

भारतीय प्रहरीसँग उनीहरुले ‘गायिक बन्न’ भारत गएको बताएका छन् । भारतीय गैरसरकारी संस्था चाइल्ड लाईनले उनीहरुलाई बुधवार दिनभर काउन्सेलिङ गरेको थियो । शुरुमा ‘गायिक बन्न’ भारत गएको बताएका उनीहरु पछि बोल्न छाडेको सशस्त्र प्रहरी नम्बर–२ छिन्नमस्ता बाहिनीका डिआईजी चन्द्र प्रकाश गौतमले रातोपाटीलाई बताए ।

भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सितामढी पुर्‍याएका थिए । चउरमा घाँस काट्न जाँदा ति महिलाले ‘गायिका बनाईदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ ।

घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे महोत्तरी प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतसम्म किन लगीयो भन्नेबारे अनुसन्धान भइरहेको प्रदेश–२ का डिआईजी धिरज प्रताप सिंहले बताएका छन् ।

मंगलबार दिएँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।

अस्मिता उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् भने रिया र ज्योति कक्षा ८ मा पढ्छन् । सीमा र नगिना कक्षा ७ मा पढ्छन् । अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको परिवारले जानकारी दिएका छन् ।

प्रतिक्रिया