काठमाडौं उपत्यका भित्रिने नाकामा कडाइ

admin

काठमाडौं, १९ चैत : कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ । उपत्यकामा संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनकाअनुसार काठमाडौं जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ । संक्रमण दर बढ्न थालेसँगै गएको आइतवारदेखि नै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

त्यस्तै सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको उनले जानकारी दिए । संक्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिने पराजुलीले बताए । कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

मन्त्रालयले ठूलो संख्यामा मानिसको भेला पूर्णरुपमा रोक्न, जुलुस, भीडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि संक्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ ।

प्रतिक्रिया