प्रदूषण घट्यो तर फेरि बढ्ने सम्भावना भएकाले सचेत हुन आग्रह

admin

काठमाडौं, १९ चैत : काठमाडौंसहित देशका धेरै ठाउँमा केही दिनदेखि बढेको वातावरण प्रदूषण केही कम भएको छ । बुधबार पानी परेपछि प्रदूषण केही घटेको हो । पूरै हट्न भने अझै केही समय लाग्ने वातावरणविद्ले बताएका छन् । वातावरण विभागका अनुसार आउँदो एक हप्तासम्म नै वातावरण प्रदूषण कायमै रहने देखिएको छ ।

तत्काल पूरै प्रदूषण हटेर जाने सम्भावना न्यून रहेको विभागका सूचना अधिकारी शङ्करप्रसाद पौडेलले बताए । उनका अनुसार अहिले बिस्तारै घट्दै गए पनि अझै केहीदिन प्रदूषण अहिलेकै अवस्थामा कायम रहने छ । ‘अस्तिभन्दा हिजो र हिजो भन्दा आज प्रदूषणको मात्रा घटेको तर पूरै घट्न अझै केही दिन लाग्न सक्छु उनले भने । पानी परे वा ठूलो हावा चले घटेर जान्छ तर, मौसम यस्तै रहिरहे प्रदूषण कायमै रहने देखिन्छ ।’

बुधबार काठमाडौंको रत्नपार्कको एक्यूआई एक सय ६९ पुगेको थियो र आज पनि त्यत्ति नै रहेको छ । सामान्यतया एक्यूआई ५० सम्म हुनु राम्रो हो । ५० देखि एक सयसम्मलाई सामान्य मानिन्छ । एक्यूआई एक सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । दुई सयसम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ ।

एक्यूआई तीन सय पुग्नु भनेको जोखिमपूर्ण हो । तीन सयभन्दा माथि जानु चाहिँ घातक मानिन्छ । अहिले नेपालको वातावरणप्रदूषणको मात्रा १ सयदेखि दुईसयको बीचमा रहेकाले सावधानी अपनाउन आवश्यक रहेको छ । वातावरण प्रदूषणबाट जोगिन विभागले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह पनि गरेको छ ।

आउँदो सोमबारसम्म प्रदूषणको मात्रा केही कम हुँदै गए पनि फेरि मंगलबारदेखि बढेर जाने विभागको अनुमान छ । वातावरण प्रदूषणको मात्रा एक्यूआई ३ सयभन्दा माथि पुगे स्वास्थ्यमा निकै नै खतरा हुन्छ । अहिले प्रदूषणको मात्रा आपतकालीन अवस्थामा पुगेको छैन तर जोखिम भने कायमै रहेको सूचना अधिकारी पौडेलले बताए । पौडेलले भने, ‘केही मात्रामा घटेको देखिएको छ, तर धेरै घटेको अवस्था छैन ।’

तुवाँलोलेझै ढाकिराखेकाले सचेत हुन उनको आग्रह छ । तराईलगायत देशका विभिन्न जिल्लामा लागेको डढेलो रोकथाम भए प्रदूषणको मात्रा पनि कम हुँदै जाने विभागको भनाइ छ । केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा गएको शुक्रबार एकाएक उच्च तहमा पुगेको थियो । शनिबादेखि काठमाडौं उपत्यकासहित देशभरको आकाशलाई तुवाँलोले ढाकेको छ ।

प्रतिक्रिया