अझै कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आइसकेको छैन : प्रवक्ता शर्मा

admin

काठमाडौं, १९ चैत : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएका कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रूपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरू कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उनले बताए । प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि बताए ।

प्रवक्ता शर्माले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरूले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रूपमा संसद् सचिवालयमार्फत सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिने छैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रूपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारका लागि ढोका खुल्ने अवस्था हुन्छ । त्यो बेलामा सत्ता समीकरणको विषय ठिक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छ अनि सरकार बन्न सक्छ ।’

प्रतिक्रिया