फास्ट ट्र्याक निर्माणसम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन

admin

काठमाडौं, १९ चैत : प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक)को सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । ठेक्का प्रक्रियामा त्रुटि देखिएको भन्दै लेखा समितिले नेपाली सेनालाई दोस्रो प्याकेजअन्तर्गतका ठेक्का रद्द गर्न निर्देशन दिएको हो ।

सेनाले आह्वान गरेको दोस्रो प्याकेजको ठेक्कामा २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए । ठेक्कामा भएको मापदण्डअनुसारको कागजात र अनुभवका आधारमा सेनाले चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडलाई पूर्व-योग्य ठहर गरेको थियो ।

तर, लेखा समितिको बिहीबारको बैठकले नेपाली सेनाले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी ठेक्का प्रक्रिया अघि नबढाएकाले पुनः प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

यस्तै समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथाशक्य छिटो निर्देशिकाहरू तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्शनसँग सम्बन्धित प्रतिवेदनहरू जारी गरेर अवरोध हटाउनसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया