देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच सहकार्य

admin

काठमाडौं, २५ चैत कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण शिथिल बनेको देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ ।

दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले बुधबार विज्ञप्तिमार्फत जनाएको छ । कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए ।

“यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिनुपर्छ”, राजदूतले भने । उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको बताए ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन प्रवद्र्धनका नयाँ योजना अगाडि सारेको बताए । उनले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकताअनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए ।

“नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।” उनले नेपाल र कतारबीच सिधा हवाई सम्पर्कसमेत रहेकाले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसको लागि बोर्डले थप पहल गर्ने बताए ।

प्रतिक्रिया