काठमाडौं, २६ चैत : कांग्रेस सांसद गगन थापाले सरकारले तीन वर्षमा कामभन्दा बढी प्रचार गरेको भन्दै संसदमा उभिएर बहस गर्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने दावी गरेको पनि उल्लेख गरेका छन् ।
सात वर्षमा सकिनुपर्ने मेलम्ची आयोजनामा २३ वर्ष लाग्दा र अरबौं लाग्दा माफी माग्नुपर्नेमा उल्टै अनावश्यक प्रचार गरेको आरोप थापाले लगाए । ‘सात वर्षको अयोजना २३ वर्ष लाग्नुपर्ने, अरबौ खर्च हुनुपर्ने । यो तपाईंको नेतृत्वको सरकारले मात्रै होइन सबै सरकारमा हुँदा भएको कमजोरी हो । तर, तपाईंहरु अहिले चमत्कार भएर जसरी प्रस्तुत हुनु भइरहेको छ’ थापाले भने, ‘फास्ट ट्रयाक कहाँ पुग्यो ? बुढी गण्डकी आयोजना के भयो ? कर्णाली करिडोर कहाँ पुग्यो ? राष्ट्रिय गौरवका आयोजना कहाँ कति बने ? कति प्रगति भए ? खै यसमा बहस गरेको ? खै काम भएको ? गफमात्रै चुटेर निर्माण सकिएको सकिएको पुलको उद्घाटन गर्ने, आधा सकिएको सडकको शिलान्यास गरेर मात्रै हुन्छ ?’
पूर्वाधार निर्माणमा यो सरकार मात्रै नभई सबै सरकारको समस्या रहेको भन्दै थापाले काम गर्ने तरिका, समन्वय, स्रोत, आयोजनाको छनोट जस्ता तथ्यमा टेकेर बहसमा उत्रिनुपर्ने उनले बताए । ‘म तपाईंले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर बहस गर्न तयार छु । तीन वर्षमा कहाँ के गर्नुभयो ? बहस गर्न यो संसदमा उभिन चुनौती दिन्छु । बाहिर कार्यकर्तासँग होइन’ थापाले भने, ‘‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन्छु ।’
उनले भने- ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन ? प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ?’
उनले २०५५ सालमा मेलम्ची विकास समिति बनेपछि पनि २३ बर्ष लागेको बताउँदै उनले यो बीचमा सबै दल सरकारमा बसेको उल्लेख गरे । उनले सात आठ वर्षमा बन्नुपर्ने आयोजना २३ वर्षमा बन्दा अरबौं रुपैयाँ भार पर्दा माफी माग्नुपर्ने हैन भन्दै प्रश्न गरे । उनले काठमाडौंबासीसँग आयोजना ढिला भएकोमा माफी माग्नुपर्ने बेलामा प्रधानमन्त्रीले उद्घाटनको तमासा गरेको बताए ।
उनले भने-‘काठमाडौंबासीको बीचमा उभिएर माफी माग्नुपर्नेमा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर कहिले उठेर कहिले बसेर उद्घाटन गरेको छ तमासा गरेको छ, चमत्कार गरेँ भनेको छ ।’ उनले २०६७ सालमा सुरु भएको माथिल्लो तामाकोशी २०७३ सालमा सकिनुपर्नेमा ७१ सालसम्म ८० प्रतिशत काम सकिएकोमा ७५ सालभित्र सकिनुपर्नेमा अब बैशाखमा पहिलो युनिट आउन लागेकोले अब मेलम्ची आयोजनामा जस्तै अपर तामाकोसीमा पनि प्रधानमन्त्रीले त्यस्तै तमासा देखाउने उल्लेख गरे ।
उनले भने–-‘प्रधानमन्त्री त कस्तो कस्तो । झ्वाट्ट बिजुली बालिदिनुभयो, पानी झारिदिनुभयो अब हामी कविता सुन्न पाउनेवाला छौँ । यहाँ कोही फास्ट ट्रयाकको कुरा गर्दैन, बुढी गण्डकीको कुरा कोही गर्दैन, पश्चिम सेतीको कुरा कोही गर्दैन, कर्णाली करिडोरको कुरा गर्दैन ।’ उनले थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको बताए ।
उनले प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको उल्लेख गरे । उनले प्रधानमन्त्री ओलीलाई कति विकास भयो भन्ने बारेमा तथ्य र तथ्याङ्कमा बसेर बहस गर्न चुनौति समेत दिए । सोहीक्रममा थापाले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारभित्र भवनको शिलन्यास र बनिसकेका कोठाको उद्घाटन गर्न सुझाएका छन् ।
विकासको काम भयो भनेर प्रधानमन्त्रीले प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके र चौतारे राखेर गफ ठोक्ने गरेको उनले बताए । उनले प्रधानमन्त्रीलाई मन्त्रालगायत र राष्ट्रिय गौरवका आयोजनामा बहसका लागि निम्त्याए । सुरू भइसकेका पुल उद्घाटन सक्किएपछि बालुवाटार परिसरमा थुप्रै जग्गा खाली छ। त्यहाँभित्र प्रत्यके दिन एउटा भवनको शिलान्यास गर्नु होला, थापाले व्यङ्ग कसे, ‘त्यहाँ बनेको कोठाको उद्घाटन गर्नुहोला।’