‘पार्टी खोस्न कोही आएको हो भने सम्भव छैन’, स्थायी कमिटी पुनर्गठन, खनाल-नेपाल पक्ष अटाएनन्

admin

काठमाडौं, १० बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन आफू अझै पनि लचिलो रुपमा प्रस्तुत भइरहेको बताएका छन् । तर, कोही पार्टी खोस्न आएको हो भने सम्भव नहुने उनले चेतावनी दिएका छन् । शुक्रबार आयोजित एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउन म रातोदिन, अहोरात्र खटेको छु । हामी जिम्मेवार र अनुशासित भएकाले हामी यो पार्टी एकता कायम गर्न प्रयास गर्छौं ।

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालका कारण नेकपाको विभाजन भएको आरोप लगाए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण हाम्रो पार्टी पुनः विभाजित भयो । विभाजित नभएको भए पनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो, मलाई साधारण सदस्य बाट समेत हटाउने दुस्साहस गर्ने ।’

प्रधानमन्त्री ओलीले पार्टीमा असन्तुष्ट पक्षहरू रहँदासम्म पार्टी अघि बढ्न नसक्ने संकेत गर्दै बैठकमा भने, ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन ।’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले लाग्ने, पार्टीकै नेताहरुविरुद्ध विषवमन गने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने र समाप्त गर्ने हिसाबले लागेका छन् ।’

आफू लचिलो भएर आउँदा पनि अर्को पक्षमा पार्टीलाई एकतावद्ध बनाउने कुनै पहल, महसुस र अनुभूति नदेखिएको ओलीले बैठकमा बताएको एक नेताले जानकारी दिए । उनले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन ।’ बालुवाटारमा माधव पक्षका नेताहरुको अनुपस्थितिमा डाकिएको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा स्थायी कमिटी गठन, स्पष्टीकरण सोधिएका नेतामाथि अनुशासनको कार्बाही, कार्यविभाजन र समसामयिक प्रस्तावमाथि छलफल हुने एजेण्डाहरु तय गरिएका छन् ।

ओलीले गरे स्थायी कमिटी पुनर्गठन, खनाल-नेपाल पक्ष अटाएनन्
केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् । उक्त बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको छ । बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको हो । स्थायी कमिटीमा झलनाथ–माधव पक्षका नेताहरुलाई समेटिएको छैन । तर, वामदेव गौतमलाई भने समेटिएको छ ।

पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ्ग, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल छन् । तर पुनर्गठित नयाँ १८ सदस्यीय स्थायी समितिमा एक जना पनि महिला परेका छैनन् ।

एमालेको कमिटीमा खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।

प्रतिक्रिया