विनाशकारी भूकम्पको ६ वर्ष पूरा

admin

काठमाडौं, बैशाख १२ : नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ। विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो।

मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण हजारौ मानिसहरुले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौ आवास भत्केका थिए।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।

९३ प्रतिशत निजी आवास निर्माण
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताए।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राही मध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने बताए। यस्तै पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको पनि बताए।

यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताउनुभयो। निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरूको सम्बोधन गरिएको पनि बताए।

भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको पनि बताए।

४९३ सम्पदा बने
क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन्। रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको र धरहराको बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने पनि सीईओ ज्ञवालीले बताए।

सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पुनर्निर्माण सम्पन्न भई गत वर्ष देखि सञ्चालनमा आइसकेको छ। केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्वीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरूको जीर्णोद्धार गर्ने कार्य जारी रहेको सिइओ ज्ञवालीले बताए।

क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन्। पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये एक सय भन्दा पुराना र २ हजार वर्ग फिट भन्दा बढी प्लिथ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्ष भन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ।

८३ प्रतिशत विद्यालय बने
भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ, बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन्।

यस्तै १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको र २ सय ९६ को पुनर्निर्माण जारी छ। कुल ४ सय १५ सरकारी भवन मध्ये ९० प्रतिशतको पुनर्मिाण सम्पन्न भइसकेको छ। सुरक्षा निकायका २ सय १६ संरचना मध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ। त्यसबाहेक सडक तर्फ ७ सय ६२ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किलोमिटर पुनर्निर्माण सम्पन्न भएको सिइओ ज्ञवालीले बताए।

पुनर्निर्माणका लागि दाता सम्मेलनमार्फत छिमेकी मुलुकहरु तथा मित्रराष्ट्र तथा गैरसरकारी संस्थाहरुबाट प्रतिबद्धता प्राप्त भएको ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंक तर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकार तर्फ स्रोतान्तर भएकोले वास्तविक प्रतिबद्धता २ खर्ब ९४ अर्ब रुपैयाँ मात्र भएको सिइओ ज्ञवालीले स्पष्ट पारे।

यस मध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको बताउनुभयो। गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ।

करिब ४० करोड ७५ लाख कार्य दिन बराबरको रोजगारी सृजना भएको पनि बताउनुभयो। त्यसबाहेक सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठ लागयतका उद्योगहरुको प्रवद्र्धनमा टेवा पुगेको पनि ज्ञवालीले बताए।

भूकम्प र त्यसपछिको पराकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाको मूल उद्देश्यसहित २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो। प्राधिकरण स्थापना भएको ६४ महिना पुगेको छ।

प्रतिक्रिया