मन्त्रिपरिषद् बस्दै, उपत्यकाका तीनै सिडिओको पनि बैठक आजै

admin

काठमाडौं, १३ बैशाख : मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेण्डा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठकले कोरोनाविरुद्ध सिसिएमसीको बैठकले सिफारिस गरेका केही महत्त्वपूर्ण निर्णय पनि गर्न सक्ने जनाइएको छ ।

यसैबीच सोमबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो ।

काठमाडौंको सिडिओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ । सक्रिय संक्रमितको संख्या उच्च रहेको र जोखिम बढ्दै गएकाले उपत्यकाका तीनै जिल्लामा लकडाउन गर्ने या नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ९०० भन्दा धेरै छ । यो संख्या सिसिएमसीले तोकेको मापदण्डभन्दा धेरै हो । सिसिएमसीले तराईमा ५०० र पहाडमा २०० जना सक्रिय संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो ।

कोभिड-१९ को संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेको सिसिएमसीको बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ ।

प्रतिक्रिया