गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

admin

काठमाडौं, १३ बैशाख : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन (आज) सोमबरबाट सुरु हुँदैछ । दिउँसो २ बजे सुरु हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोलेपछि अविश्वासको प्रस्ताव टेबुल हुनेछ । अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर रहेको छ  राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने बताउँदै आएको छ ।

२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा रहनुभएको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ मत आवश्यक पर्छ । गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद रहेका छन् ।

प्रतिक्रिया