विदा बसेका स्वास्थ्यकर्मीलाई तुरून्त बोलाउन पत्राचार

admin

काठमाडौं, १४ बैशाख : स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार एक पत्र पठाएको छ । उक्त पत्रमा लामो विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तुरून्त कार्यालयमा हाजिर हुन भनिएको छ ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालमा सेवा लिन आउने संक्रमितहरूको व्यवस्थापनका लागि सो निर्णय गरिएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार बसेको मन्त्रालयका निमित्त सचिवको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन पनि भनिएको छ ।

केन्द्रले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिनसमेत भनिएको छ । अस्पतालको दरबन्दीअनुसार कुनै पद रिक्त रहे तत्काल जनशक्तिको व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भन्दा बढी जनशक्ति आवश्यक भए ६ महिनाको लागि करार सेवामा लिने व्यवस्था मिलाउन मन्त्रालयले पत्राचार गरेको हो ।

प्रतिक्रिया