ओलीविरुद्ध अविश्‍वास प्रस्ताव : जसपा अनिर्णयित हुँदा काँग्रेसमा अलमल

admin

काठमाडौं, १५ वैशाख : प्रमुख प्रतिपक्ष कांग्रेसले बहुमत संख्या सुनिश्चित नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न मानेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन ३४ सिट ९दुई निलम्बन० रहेको जनता समाजवादी पार्टी (जसपा) को औपचारिक निर्णय पर्खेका छन् । जसपाले पार्टी निर्णयमार्फत समर्थन नदिएमा अविश्वास प्रस्ताव दर्ता नगराउने मनस्थितिमा कांग्रेस पुगेको हो ।

ओलीलाई विस्थापित गर्ने विषयमा जसपाभित्र भने मतान्तर झन् बढेको छ । विवादकै कारण मंगलबार बसेको जसपाको पाँच सदस्यीय पदाधिकारी बैठकले यस सम्बन्धमा कुनै निष्कर्ष निकाल्न सकेन । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीबाट निर्णय गराएरै ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुपर्ने बताएका छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो त्यसविरुद्ध छन् ।

ठाकुर र महतोले संसद्मा अविश्वास प्रस्ताव दर्ता भएमा वा प्रधानमन्त्री ओली आफैंले विश्वासको मतको प्रस्ताव राखेमा मात्रै पार्टी सरकार निर्माणमा प्रवेश गर्नुपर्ने अडान लिएका छन् ।

अविश्वास प्रस्तावमा सहभागी भएर प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने पक्षमा उनीहरू देखिएका छैनन् । उनीहरूले पार्टीका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसकेको जनाउँदै ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान नमिल्ने तर्क अघि सारेका छन् ।

‘अविश्वास प्रस्ताव कांग्रेसको एजेन्डा हो र सरकारबाट समर्थन फिर्ता लिने माओवादीको एजेन्डा हो, यी दुई दलमध्ये एकले आफ्नो एजेन्डा अघि बढाए भने हामीले के गर्ने भन्ने निर्णय लिन सक्छौं,’ वरिष्ठ नेता महतोले भने, ‘अहिले त हाम्रो एजेन्डा नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता गराउने हो । आजसम्म सरकारले १५ वटा मुद्दा फिर्ता गरिसकेको छ ।

धमाधम मुद्दा फिर्ता भइरहेका बेला सरकार परिवर्तनको एजेन्डामा लागेर वातावरण बिथोल्ने काम गरियो भने पार्टीका नेता–कार्यकर्तामाथि ठूलो बेइमानी हुनेछ ।’ सरकारका विषयमा पदाधिकारी बैठकमा सहमति नजुट्ने भएपछि यादव र भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको बैठक एक/दुई दिनमै बोलाउनुपर्ने प्रस्ताव राखेका थिए ।

ठाकुर र महतोले बैठक बोलाउने विषयमा समेत सहमति नजनाएपछि विवादकै बीच पदाधिकारी बैठक टुंग्याएर नेताहरू निस्केका थिए ।यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया