निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

admin

काठमाडौं, १६ बैशाख : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ । काठमाडौंमा (आज) बिहीबार देखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाडौंबाट घर फर्कनेको घुइँचो लागेको थियो । चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि बिहीबारदेखि निषेधाज्ञा लगाइएको छ । दाङ र पाल्पामा शुक्रबारदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा संक्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइँदैन । विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी ब्यानरसहितका दुईवटासम्म गाडी प्रयोग गर्न पाइनेछ ।

विवाहरव्रतबन्धमा सहभागी भएर अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि पालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अरु गाडी प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर गाडी प्रयोग गर्न पाइने छ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडीको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै एयरपोर्ट जाने गाडीका लागि सहजीकरण गरिने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा गाडी प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइनेछ ।

प्रतिक्रिया