काठमाडौंमा भेरोसेल खोप वितरण स्थगित, एउटै डोजले पनि संक्रमण दरलाई आधासम्म घटाउँने

admin

काठमाडौं, १६ बैशाख : काठमाडौंमा भेरोसेल खोप वितरण स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति निकालेर केही समयका लागि खोप वितरणको काम स्थगित भएको जानकारी गराएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

गएको चैत ४ गतेको सरकारको निर्णय अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि यो खोप लगाउन सुरु भएको थियो । १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेल खोप दिइएको थियो । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

कोरोना खोपको एउटै डोजले पनि संक्रमण दरलाई आधासम्म घटाउँछ
कोरोना भाइरसविरुद्धको खोपको एउटै डोजले पनि संक्रमण दरलाई आधासम्म घटाउन सक्ने अध्ययनले देखाएको छ । फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि संक्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्ग्ल्याण्ड पीएचईले जनाएको छ ।

खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको बीबीसीले जनाएको छ । पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित संक्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ ।

खोप हाम्रो जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न रहेको भन्दै पीएचईकी खोप प्रमुख डाक्टर मेरी रामसेले खोपले रोगको गम्भीर असर कम गर्ने मात्रै नभई धेरै संक्रमितको ज्यान जोगाउनसमेत सहयोग गर्छ । प्रमाणहरूले खोप लगाएकाहरु संक्रमित भइहाले पनि उनीहरुले अरूलाई भाइरस सर्ने जोखिम केही कम हुने देखाएको अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया